प्रलेस प्रदेशका गतिविधि

प्रलेस सुदूर पश्चिमको दोस्रो सम्मेलन

प्रगतिशील लेखक सङ्घ, नेपाल सुदूर पश्चिम प्रदेश समितिको दोस्र्रो सम्मेलन यही २०७८ चैत ५ गते धनगढी, कैलालीमा सम्पन्न भयो । प्रदेश समिति अध्यक्ष जनक रसिकको अध्यक्षतामा सम्पन्न भएको सम्मेलनको उद्घाटन समारोहको सञ्चालन प्रदेश कमिटी सचिव केशवनाथ योगीले गर्नुभएको थियो ।
उद्घाटन समारोहमा केन्द्रीय समितिका सचिव बाबुराम आचार्य प्रमुख अतिथि, केन्द्रीय सल्लाहकार डा. पुष्करराज भट्ट विशिष्ट अतिथि, त्यस्तै राष्ट्रिय परिषद् सदस्य कल्यान ओझा, नेकपा (माओवादी) का केन्द्रीय सदस्य शिव ओली, नेकपा (एमाले) का प्रदेश सदस्य खेमराज पाण्डेय, राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष दयाराम सन्ज्याल, प्रलेस पूर्व सचिवालय सदस्य लक्षीराम आचार्य, कैलाली जनपुस्तकालयका अध्यक्ष डा. टिएन जोशी, नेपाली लेखक सङ्घ कैलालीका जिल्ला अध्यक्ष गणेश नेपाली अतिथि हुनुहुन्थ्यो । उद्घाटन समारोहमा प्रलेस सुदूर पश्चिमका उपाध्यक्ष चन्द्रकला पन्तले स्वागत भाषण गर्नुभएको थियो ।
सम्मेलनको दोस्रो शत्र अध्यक्ष मण्डलका संयोजक बाबुराम आचार्य, सदस्यहरू डा. पुष्करराज भट्ट, हरिकृष्ण कडायत एवम् लक्ष्मीप्रसाद पौडेलले सञ्चालन गर्नुभएको थियो । बन्दशत्रमा प्रदेश अध्यक्ष जनक रसिकले साङ्गठनिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । सम्मेलन हलले प्रतिवेदन पास गरेपछि सर्वसम्मत रूपमा प्रदेश नेतृृत्व चयन भएको थियो ।
प्रदेश सम्मेलनले अध्यक्षमा रमेश पन्त मीतबन्धु, उपाध्यक्षमा जगदीश ओझा, तारामणि न्यौपाने र कोपिला शर्मा कल्प, सचिवमा सिर्जन श्री, सहसचिवमा योगराज आचार्य र कोषाध्यक्षमा हेमराज मिश्र लाई निर्वाचित गरेको छ । प्रदेश समितिका सदस्यमा नारायण गिरी, नारायण लम्साल, लक्ष्मीप्रसाद सोती, महेन्द्र बस्नेत, गङ्गाप्रसाद रिजाल, फाल्गुना दाहाल, कैलाशदेव नागर्जी, लालमणि जोशी, सरस्वती साउद, उत्तम विष्ट, राकेश चन्द, प्रेमबहादुर सिंह, लोकविक्रम मल्ल, नरबहादुर भण्डारी, दीपिका भट्ट, अञ्जना श्रेष्ठ, मेर्जन शाही, कर्णबहादुर चन्द, वीरबहादुर गौतम, बसन्त बागचन्द, अशोक बोहरा ‘असीम रहनुभएको छ ।
केही जिल्लाबाट प्रतिनिधित्व थप्ने गरेर ३७ सदस्यीय प्रदेश समिति निर्माण भएको छ ।

प्रलेस गण्डकीद्वारा बहुभाषिक गोष्ठी सम्पन्न



पोखरा । प्रगतिशील लेखक सङ्घ गण्डकी प्रदेश समितिले बहुभाषिक गोष्ठी सम्पन्न गरेको छ ।
केन्द्रीय अध्यक्ष प्रा.डा. जीवेन्द्र देव गिरीको प्रमुख आतिथ्यतामा २०७८ असार १९ गते भर्चुअल माध्यमबाट सो कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा सर्वप्रथम प्रा.डा. दानराज रेग्मीले “पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङ जिल्लाका भाषाहरूको वर्तमान अवस्था र संरक्षण रणनीति” विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
प्रा.डा. दिनबहादुर थापाले टिप्पणी गर्दै कार्यपत्र बौद्धिक, बहुउपयोगी र स्तरीय रहनुका साथै विषय विज्ञता र व्यावहारिक अनुभव समेटिएको बताउनुभएको थियो ।
प्रमुख अतिथि प्रा.डा. जीवेन्द्र देव गिरीले नेपालको संविधान–२०७२ ले बहुभाषिक विकासका लागि प्रष्ट निर्देशन दिएको बताउनुभयो ।
उहाँले भन्नुभयो– ‘अब समय आएको छ, हामी सबै भाषाको अध्ययन, संरक्षण र विकासमा लागौँ ।’
अर्कातिर, संविधानले भाषासम्बन्धी काम गर्ने अधिकार स्थानीयतहसम्मै दिए पनि नीतिनिर्माणकर्तामै एक खालको अन्यौलता रहेको उहाँले बताउनुभयो ।
‘कतिपय नीतिनिर्माणकर्तामै अन्यौलता छ, मातृभाषा विकास गरेर के हुन्छ र भन्ने’ उहाँले अगाडि भन्नुभयो– ‘अबको समयमा भाषिक जागरण अत्यन्तै आवश्यक छ ।’
उहाँले पछिल्ला जनगणनामा सही सही तथ्याङ्क उल्लेख नगर्ने समस्या रहेको बताउनुभयो । जनताको केही तप्कामा आआफ्ना स्वार्थका कारणले एउटा भाषीले अर्को भाषी लेखाउने, एक जातिले अर्को जाति लेखाउने हुन गएको उहाँको भनाइ थियो ।
उहाँले तत्कालै दोभाषेहरूको व्यवस्था गरेर मातृभाषाको विकासका लागि लाग्ने समय आएको बताउनुभयो ।
कार्यक्रमका विशिष्ट अतिथि प्रलेसका महासचिव समीर सिंहले भाषाको विकासका लागि प्रगतिशील लेखक सङ्घले सक्दो प्रयास गरिरहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
‘हामी सामन्तवाद, साम्राज्यवादको विरुद्धमा छौँ’ उहाँले भन्नुभयो– ‘तर सबै भाषाको उन्नयन हुनुपर्दछ भन्नेमा प्रगतिशील लेखक सङ्घ प्रष्ट छ ।’
उहाँले गण्डकी प्रदेश समितिले बहुभाषिक गोष्ठीको आयोजना गरेर महत्त्वपूर्ण काम गरेको पनि बताउनुभयो ।
कार्यक्रममा रामराज रेग्मी, डा. यदुनन्दन उपाध्याय, डा. भवानीप्रसाद पाण्डे, शेरबहादुर गुरुङ, डा. भीम गौतमलगयातले पूरक टिप्पणी गर्नुभएको थियो ।
प्रलेसका केन्द्रीय सचिवालय सदस्य तथा गण्डकी प्रदेश अध्यक्ष लोकबहादुर थापाको अध्यक्षतामा अगाडि बढेको उक्त कार्यक्रमको सञ्चालन प्रदेश समितिका सचिव यादवराज उपाध्यायले गर्नुभएको थियो ।
प्रदेश समितिका नारायण मरासिनीले स्वागत मन्तव्य राख्नुभएको उक्त कार्यक्रमको पूर्वाद्र्धमा प्रलेस पार्षद तथा प्रलेस म्याग्दीका पूर्व अध्यक्त कार्कीको निधनप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरिएको थियो ।

प्रगतिशील कर्णाली साहित्यिक यात्राको तेस्रो शृंखला तथा कृति विमोचन सम्पन्न



वीरेन्द्रनगर । प्रगतिशील लेखक सङ्घ कर्णाली प्रदेशको आयोजनामा “तेस्रो प्रगतिशील कर्णाली साहित्यिक यात्रा” कार्यक्रम सुर्खेत वीरेन्द्रनगरस्थित चित्रबहादुर केसी अध्ययन प्रतिष्ठानको सभाहलमा २०७७ मङ्सिर ६ गतेका दिन सम्पन्न भएको छ ।
प्रगतिशील लेखक सङ्घघ कर्णाली प्रदेशका अध्यक्ष गिरीप्रसाद बुढाको अध्यक्षता रहेको यस कार्यक्रममा प्रमुख अतिथि लोकवार्ताका संयोजक डा. मधुसूदन गिरी हुनुहुन्थ्यो भने अन्य अतिथिहरूमा प्रगतिशील लेखक सङ्घका केन्द्रीय सदस्य डा. दीपक गौतम, केन्द्रीय सदस्य जीवन शाही, राष्ट्रिय जनमोर्चाका विष्णुप्रसाद शर्मा, स्वतन्त्र दलित विद्यार्थी सङ्गठनका धनबहादुर नेपाली, साहित्यकारहरू बलभद्र भारती, सिद्धबहादुर खड्का, खगेन्द्र अधिकारी, थानेश्वर लामिछाने, युद्धविक्रम शाही, ऋषिप्रसाद धामी, पूर्णबहादुर शाहीलगायतहुनुहुन्थ्यो । 
कार्यक्रममा प्रगतिशील लेखक सङ्घ कर्णाली प्रदेशको प्रकाशन “रातो जून” को दोस्रो अङ्क, साहित्यकार रगवीर विश्वकर्माद्वारा लिखित गजल सङग्रहहरू “कोरोना भाइरस” र “एमसिसी” अनुदान गरी तीन वटा कृतिको एकमुष्ठ विमोचन गरिएको थियो । 
विमोचित कृतिहरू “रातो जून”, “एमसिसी अनुदान” र “कोरोना भाइरस” को समीक्षा क्रमशः युद्धविक्रम शाही, बलभद्र भारती र खगेन्द्र अधिकारीले गर्नुभएको थियो भने समग्र कार्यक्रमको समीक्षा डा. दीपक गौतमले गर्नुभएको थियो ।
कार्यक्रममा दर्जनभन्दा बढी स्रष्टाहरूले रचना वाचन गर्नुभएको थियो ।
प्रलेस नेपाल कर्णाली प्रदेशका सदस्य हस्तराज रेग्मीको स्वागत मन्त्व्य रहेको यस कार्यक्रमको सञ्चालन सचिव हरिलाल महताराले गर्नुभएको थियो ।

राष्ट्रियता र प्रगतिशील साहित्यबारे प्रलेस बागमतीको अन्तरक्रिया

काठमाडौँ । “राष्ट्रियताको आन्दोलनमा प्रगतिशील साहित्यको भूमिका” विषयमा प्रगतिशील लेखक सङ्घ बागमती प्रदेश समितिले अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । प्रलेसका केन्द्रीय अध्यक्ष प्रा.डा. जीवेन्द्र देव गिरीको प्रमुख आतिथ्यता तथा महासचिव समीर सिंहको विशिष्ट आतिथ्यतामा २०७७ साउन ३१ गते भर्चुअल माध्यमबाट सो कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा विषयवस्तु प्रस्तुत गर्दै प्रलेसका सल्लाहकार तथा पूर्व अध्यक्ष मातृका पोख्रेलले प्रगतिशील साहित्यिक आन्दोलनमा राष्ट्रियता अत्यन्तै मुखर विषय रहेको बताउनुभयो । २००९ सालमा प्रलेसको स्थापना हुनुभन्दा पहिलेदेखि नै गोकुल जोशी, धर्मराज थापा, केवलपुरे किसान, लक्ष्मीप्रसाद देवकोटालगायतका ठुलो पङ्क्तिले राष्ट्रियताको आन्दोलनमा भूमिका खेलेको उहाँले बताउनुभयो । २००७ सालवरपर नेपालमा भारतीय विद्यालयका पाठयक्रम पढाइने गरेको स्मरण गर्दै उहाँले भन्नुभयो– ‘त्यति बेला शिक्षामन्त्री लक्ष्मीप्रसाद देवकोटा हुनुहुन्थ्यो, उहाँहरूसमेतको जोडबलले मन्त्रिपरिषद्बाटै निर्णय गराएर भारतीय पाठ्यक्रमको नेपालमा अध्यापनमाथि रोक लगाइएको थियो । २००७ सालको त्रिपक्षीय सम्झौता धोका हो भन्दै त्यतिखेरका प्रगतिशील साहित्यकारहरूले आफ्ना आवाज मुखर बनाएको बताउँदै उहाँले अहिलेको पिँढीमाझ ती सामग्री हस्तान्तरण तथा प्रचार प्रसार गर्नुपर्ने आवश्यकतामा जोड दिनुभयो । 
प्रलेसका अर्का सल्लाहकार डा. गोविन्द आचार्यले नेपालमा सत्ताधारीको कमजोरीकै कारण सीमा मिचिएको बताउनुभयो । सीमा अतिक्रमणलगायतका राष्ट्रियताको विषयमा प्रगतिशील साहित्यकारहरू प्रारम्भदेखि नै सक्रिय रहेको बताउँदै उहाँले अगाडि भन्नुभयो– ‘वि.सं. १९९७ सेरोफेरोदेखि नै नेपाली प्रगतिशील साहित्यकारहरू राष्ट्रियताको आन्दोलनमा सरिक भएका थिए ।’ राष्ट्रियता भनेको विशुद्ध रूपमा भूभाग र सीमा मात्रै नभएको बताउँदै उहाँले त्यसको मुख्य सङ्घटक अङ्ग जनता भएको बताउनुभयो । ‘खासगरी तल्लो तहका किसान–मजदुर नै राष्ट्रियताको मेरुदण्ड हो’ उहाँले भन्नुभयो– ‘सत्ताधारीको भर परेर होइन, किसान–मजदुरको भर परेर नै नेपाली राष्ट्रियताको जगेर्ना हुन सक्छ ।’ उहाँले प्रगतिशील साहित्यकारलाई देशको माटो र श्रमको गुणगान गाउने साहित्यकर्ममा लाग्न अनुरोध पनि गर्नुभयो ।
वरिष्ठ साहित्यकार नर्मदेश्वरी सत्यालले लेखाइअनुसार व्यवहार नहुनु नेपाली प्रगतिशील साहित्यिक आन्दोलनको ठुलो विडम्बना रहेको बताउनुभयो । ‘१० वटा कुराहरू बोल्छन्, लेख्छन् भने दुई वटा मात्रै व्यवहारमा उतारिदिए पनि अर्थपूर्ण हुन्छ’ सत्यालले भन्नुभयो– ‘हामीकहाँ बोल्ने, लेख्ने, तर व्यवहारमा लागु गर्नुनपर्ने जुन व्यवहार देखिन्छ, त्यो आफ्नै लेखनवृत्तिको स्प्रिटसित मेल नखाने प्रवृत्ति हो ।’ उहाँले राष्ट्रियताको विषयमा जनतामा जागरणको अवस्था रहेको, तर सत्ताधारीमा प्रशस्त कमजोरी रहेको बताउँदै त्यसका विरुद्ध खबरदारी प्रगतिशील साहित्यकारले गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रमको उत्तरार्धतिर प्रमुख अतिथिको आसनबाट मन्तव्य राख्दै प्रलेका अध्यक्ष प्रा.डा. जीवेन्द्र देव गिरीले राष्ट्रियताको मुख्य तत्त्व जनता भएको बताउँदै जनतालाई सबल बनाउन प्रगतिशील साहित्यकर्मीहरू लाग्नुपर्ने बताउनुभयो । अर्कातर्फ, मुलुकलाई आत्मनिर्भर बनाउन पनि साहित्यकारले आवाज उठाउनुपर्नेमा उहाँले जोड दिनुभयो । पछिल्लो समयमा उत्तर आधुनिकतावादले जरो गाडेको बताउँदै वर्गलाई पृष्ठभूमिमा पारी जाति, धर्म र लिङ्गलाई एकतर्फी रूपमा जोड दिने सो प्रवृत्तिको भण्डाफोर आवश्यक रहेको उहाँले बताउनुभयो । नेपालभित्रका प्रकृतिको गुणगान गर्नु भनेको पनि राष्ट्रियता पक्षधर काम हो भन्दै उहाँले उदाहरणका लागि सगरमाथाको गीत गाउँदा राष्ट्रियता मजबुत हुने दावी गर्नुभयो ।
महासचिव समीर सिंहले समेत मन्तव्य राख्नुभएको उक्त कार्यक्रममा स्वागत मन्तव्य केन्द्रीय सचिवालय सदस्य तथा बागमती प्रदेशका सहइन्चार्ज पारस ढकालले राख्नुभएको थियो । कार्यक्रम प्रलेस बागमतीका अध्यक्ष जगत्प्रसाद रेग्मीको अध्यक्षता तथा सचिव भीम क्षेत्रको उद्घोषणमा सम्पन्न भएको थियो । सो अवसरमा अतिथि वक्ताहरूको मन्तव्यपश्चात् सहभागीका पूरक प्रश्नमाथि अन्तरक्रिया गरिएको थियो ।
प्रगतिशील बहुभाषिक कविता महोत्सव सम्पन्न
प्रगतिशील लेखक सङ्घ गण्डकी प्रदेशले २०७६ असार २१ गते शनिबार प्रदेशस्तरीय बहुभाषिक कविता गोष्ठी सम्पन्न ग¥यो । 
प्रमुख अतिथि मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र विशिष्ट अतिथि प्रलेसका केन्द्रीय उपाध्यक्ष सुशीला प्रधानाङ्ग रहेको यस गोष्ठीमा १४ वटा भाषाका कवि–कवियत्रीहरूद्वारा कविता प्रस्तुत गरिएको थियो । ‘सयौं थुङ्गा पूmलका हामी एउटै माला नेपाली’ राष्ट्रिय गानकै प्रतिबिम्ब झल्कने यस कार्यक्रममा विशाल उपस्थितिबीच नेपाली, संस्कृत, मगर, गुरुङ÷तमु, छन्त्याल, थकाली, तामाङ, नेपाल÷नेवारी, कुमाल, वान्तवा, सुनुवार, दुरा, ह्योल्मो र कुलुङ भाषाका कविताहरू प्रस्तुत गरिएका थिए ।
गोष्ठीको अध्यक्षता लोकबहादुर थापा, उद्घोषण नारायण मरासिनी र स्वागत विजया सुवेदीद्वारा गरिएको गोष्ठीमा सहभागी कवि–कवियत्रीहरूले आ–आफ्नो परम्परागत पहिरनमा उपस्थिति जनाएको हुँदा सभाहलले साँच्चैको रंगीविरंगी पूmलहरूको सुन्दर बगैंचाको झझल्को गराएको थियो ।

प्रलेस कर्णाली प्रदेशको कार्यक्रम घोषणा
प्रगतिशील लेखक सङ्घ कर्णाली प्रदेशको बैठक २०७६ असार ७ गते सम्पन्न भएको छ । 
बैठकले द्वैमासिक रुपमा नियमित कार्यक्रम गर्ने गरी “प्रगतिशील कर्णाली साहित्य यात्रा“ सञ्चालन गर्ने निर्णय गरेको छ । त्यस अन्तर्गत पहिलो यात्रा भदौभित्र रुकुम पश्चिममा गर्ने निर्णय गरिएको छ । त्यस्तै, दोस्रो यात्रा कार्तिकभित्र दैलेखमा गर्ने र तेस्रो यात्रा माघभित्र सुर्खेतमा गर्ने निर्णय भएको अध्यक्ष गिरीप्रसाद बुढाले बताउनुभएको छ ।
त्यसैगरी बैठकले प्रलेस कर्णाली प्रदेशको मुखपत्र “प्रगतिशील प्रवाह“ प्रकाशन गर्ने, प्रलेस सुर्खेत शाखासँग समन्वय गरी कार्यालय व्यवस्थापन गर्ने तथा कर्णाली प्रदेश स्तरीय प्रगतिशील प्रतिभा पुरस्कारका लागि अक्षयकोष स्थापनार्थ पहल गर्ने निर्णय भएको पनि बताइएको छ ।
त्यस्तै, प्रगतिशील लेखक सङ्घको प्रदेश कार्यालय व्यस्थापनका लागि प्रदेश सरकार तथा नगर विकास समिति सुर्खेतसँग जग्गा माग गर्ने निर्णय भएको पनि जानकारी दिइएको छ ।
“प्रगतिशील कर्णाली साहित्यिक यात्रा” सम्पन्न
प्रगतिशील लेखक सङ्घ कर्णाली प्रदेशको आयोजना तथा प्रगतिशील लेखक सङ्घ जिल्ला शाखा रुकुमको व्यवस्थापनमा “प्रगतिशील कर्णाली साहित्यिक यात्रा” कार्यक्रमको प्रथम यात्रा प्रलेस कर्णाली प्रदेशका अध्यक्ष गिरीप्रसाद बुढाको अध्यक्षता तथा जिल्ला समन्वय समिति रुकुम पश्चिमका प्रमुख राजकुमार शर्माको प्रमुख आतिथ्यतामा मुसिकोट बहुमुखी क्याम्पस रुकुम पश्चिमको सभा हलमा २०७६ भाद्र २८ गतेका दिन सम्पन्न भयो ।
कार्यक्रमको अन्य अतिथिहरूमा मुसिकोट बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख मुकुन्दप्रसाद शर्मा, रुकुमेली क्याम्पसका क्याम्पस प्रमुख मिनबहादुर पुन, प्रगतिशील लेखक सङ्घका पूर्व केन्द्रीय पार्षद सिद्धबहादुर खड्का, राप्ती साहित्य परिषद जिल्ला शाखा रुकुमका सदस्य ओमबहादुर खत्री, मुसिकोट नगरपालिका नगर शिक्षा अधिकृत विनाराम खड्का, साहित्यकारहरू खेमराज खड्का, कुबेर मल्ल, हरिपवन पहर खड्का, एक्कबहादुर केसी, जनविकास पुस्तकालय रुकुम पश्चिमका व्यवस्थापन समितिका उपाध्यक्ष नारायणप्रसाद शर्मा, आहा सञ्चार साप्ताहिकका सम्पादक मेघराज खड्का, रेडियो गेमी त्रिबेणीका अमरराज पुन, रेडियो सानी भेरी रुकुमका दिपेन्द्र महतरालगायत हुनुहुन्थ्यो । 
कार्यक्रममा “कर्णाली प्रदेशमा प्रगतिशील कला साहित्यको सम्भावना र चुनौती” विषयक अन्तक्र्रिया सञ्चालन गरिएको थियो । अन्तरक्रियामा प्रगतिशील लेखक सङ्घ कर्णाली प्रदेशका अध्यक्ष गिरीप्रसाद बुढाले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो भने मुसिकोट खलङ्गा बहुमुखी क्याम्पस रुकुम पश्चिमका क्याम्पस प्रमुख मुकुन्दप्रसाद शर्माले कार्यपत्रमाथि टिप्पणी गर्नुभएको थियो । त्यसैगरी सहभागीहरूबाट कार्यपत्रमाथि थप सल्लाह सुझाव दिइएको थियो । 
अन्तरक्रिया लगतै साहित्यकार प्रमोदकुमार शर्माद्वारा लिखित कृति “शिकारीको देश” विमोचन गरिएको थियो । त्यसैगरी सहभागी करिब दुई दर्जन स्रष्टाहरूले आ–आफ्ना रचना वाचन गर्नु भएको थियो । प्रलेस रुकुम पश्चिम शाखाका अध्यक्ष कमप्रसाद देवकोटाको व्यावस्थापकीय मन्तव्य तथा सचिव मनलाल ओलीको स्वागत मन्तव्य रहेको उक्त कार्यक्रमको सञ्चालन प्रलेस कर्णाली प्रदेशका सचिव हरिलाल महतारा र सहसचिव धिरेन थापा अनुपमले गर्नुभएको थियो ।

सुदूर पश्चिममा अन्तक्र्रिया कार्यक्रम सम्पन्न 
सुदूर पश्चिम प्रदेशमा यही २०७६ श्रावण ३२ गते धनगढीमा भव्य रूपमा व्यापक छलफल सहित सम्पन्न भएको छ । “समाज रूपान्तरणमा प्रगतिशील साहित्य र संस्कृतिको भूमिका” विषयक अन्तक्र्रिया कार्यक्रमको उद्घाटन सुदूर पश्चिम प्रदेश सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले दिप प्रज्वलित गरेर गर्नु भयो भने कार्यक्रमको सभापतित्व प्रदेश अध्यक्ष जनक रसिक र कार्यक्रम सञ्चालन प्रदेश समितिका सचिव केशवनाथ योगीले गर्नुभयो ।
कार्यक्रममा विशिष्ट अतिथिको तर्फबाट नेकपा उपसचिव अक्कल रावल तथा राष्ट्रिय जनमोर्चाका राष्ट्रिय परिषद् सदस्य हरिकृष्ण पाण्डेले मन्तव्य राख्नु भएको थियो भने अर्का विशिष्ट अतिथि प्रलेसका केन्द्रीय सचिव बाबुराम आचार्यले कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । उक्त कार्यपत्रमा प्रमुख टिप्पणीकर्ता लक्षीराम आचार्यले टिप्पणी राख्नु भएको थियो भने टिप्पणीका लागि फ्लोर पनि ओपन गरिएको थियो ।
विभिन्न पार्टीका नेता तथा साहित्यकारहरूले आफ्नो विचार व्यक्त गर्नु भएको थियो । सो क्रममा नेकपा (मसाल) कैलालीका प्रवक्ता मिलन शाही, नेकपा कैलालीका अध्यक्ष रणबहादुर चन्द, नेपाली साहित्य तथा संस्कृति प्रतिष्ठानका अध्यक्ष पदमराज जोशी, प्रलेस कैलाली अध्यक्ष तिलकबहादुर सिंह, कैलाली जनपुस्तकालयका अध्यक्ष डा. टि.एन. जोशी, दलित साहित्य सोपान अध्यक्ष गणेश नेपाली, हरिकृष्ण कडायतले राख्नुभयो भने बीचबीचमा रचना वाचन तथा रक्तिम सांस्कृतिक अभियानका कलाकारको विशेष प्रस्तुति रहेको थियो ।
प्रलेस कैलाली शाखाको सहव्यवस्थापनमा निर्माण व्यवसायी सङ्घ कैलालीको सभाकक्षमा सञ्चालित कार्यक्रममा प्रदेशका आठ दर्जन बढी लेखक कलाकर्मीहरुको सहभागिता रहेको थियो । साथै भेलामा स्थानीय राजनीतिकर्मी, युवा–विद्यार्थीका साथै प्रलेसबाहिरका केही लेखक–कलाकर्मीहरुको समेत उपस्थिति रहेको थियो । 
प्रलेस सुदूर पश्चिमको पूर्ण बैठक

२०७६ बैशाख २४ गते प्रदेश कमिटिको पूर्ण बैठक बसी संस्थालाई गतिशील बनाउन विभिन्न महत्त्वपूर्ण निर्णयहरु पारित गरियो । जिल्ला कमिटीहरुलाई सक्रिय गराउने, लेखनसम्बन्धी कार्यशाला, गोष्ठी सञ्चालन गर्ने, प्रशिक्षण तथा अन्य कार्यक्रमहरु आयोजना गर्ने, मुखपत्र प्रकाशन गर्नेलगायतका विभिन्न महत्त्वपूर्ण निर्णयहरु पारित गरिए । कार्यविभाजन तथा जिम्मेवारी बाँडफाड सहित केही विभागहरु पनि गठन गरिए ।
प्रलेस प्रदेश नं. १ बैठक सम्पन्न
गाईघाट । प्रगतिशील लेखक सङ्घ नेपाल प्रदेश नं. १ को बैठक २०७६ वैशाख २१ गते प्रलेस उदयपुरको संयोजनमा गाईघाटमा सम्पन्न भएको छ । महासचिव समिर सिंहको प्रमुख आतिथ्यतामा भएको सो बैठकको अध्यक्षता प्रलेस प्रदेस १ का अध्यक्ष डा. देवी दुलाल क्षेत्रीले गर्नु भएको थियो । 
प्रदेश नं. १ भित्रका प्रलेसका केन्द्रीय सदस्य, राष्ट्रिय परिषद सदस्य तथा इलाम, झापा, मोरङ, सुनसरी, धनकुटा, उदयपुर, सङ्खुवासभा जिल्लाका प्रलेसका जिल्ला अध्यक्ष तथा प्रदेश सदस्यहरुको उपस्थितिमा भएको सो बैठक उदयपुर स्थित नेपाल निजामती कर्मचारी सङ्गठनको सभाहलमा भएको थियो ।
कार्यक्रमका विशिष्ट अतिथि एवम् प्रलेस उदयपुरका पूर्व अध्यक्ष समेत रहेका बेलका नगरपालिकाका प्रमुख दुर्गा कुमार थापा स्वस्तीले प्रलेस १ नं. प्रदेशको भवन निर्माणका लागि तीन कट्ठादेखि पाँच कट्ठासम्म जग्गा उपलब्ध गराउने जानकारी दिनु भएको थियो । प्रलेसका राष्ट्रिय परिषद सदस्य बोध कुमार घिमिरेको स्वागत मन्तव्यबाट सुरु भएको बैठकमा बुद्धिजीवी वेद प्रसाद पोखरेल, त्रियुगा जनता बहुमुखी क्याम्पसका प्रमुख रमेश चन्द्र रोका, प्रलेस केन्द्रीय सदस्य मधु पोखरेल, बरुवा क्याम्पस प्रमुख भीम बहादुर खड्का, राममणि पोखरेल, नेपाल निजामति कर्मचारी सङ्गठनका जस बहादुर कार्की, नेपाली लेखक सङ्घका अध्यक्ष दुर्गा प्रसाद काफ्ले, ताप्ली गाउँपालिकाका अध्यक्ष उद्धवसिंह थापा, उदयपुर सिमेन्ट उद्योग लिमिटेडका कुवेरकान्त काफ्ले, तिला लेकाली, सिर्जना सरोवर, हिमालय पौडेल, गीता रेग्मी, सम्झना असफल, शिव नारायण मण्डल सिङ्गल लगायतले शुभकामनाका साथै रचना वाचन गर्नु भएको थियो ।
बैठक आयोजकका तर्फबाट प्रत्यक्ष–अप्रत्यक्ष सहयोग गर्नु हुने र सहभागिता जनाउनु हुने सबैमा प्रलेस उदयपुरका अध्यक्ष माधव पोखरेल गोज्याङ्ग्रेले धन्यवाद ज्ञापन गर्नु भएको थियो ।
बैठकले तीन वर्षे कार्यकालभित्र गर्नु पर्ने योजना तय गरेको छ । ती योजनाहरुमा प्रलेस प्रदेश नं. १ को जग्गा प्राप्त गरी भवन निर्माण गर्ने प्रक्रिया अघि बढाउने, प्रलेस १ नं. प्रदेशको इतिहास लेखन गर्ने, प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने लगायतका निर्णयहरु गरेको छ ।

No comments:

Post a Comment