दस्तावेज

सांगठनिक प्रतिवेदन

(प्रगतिशील लेखक सङ्घ नेपालको एघारौँ राष्ट्रिय सम्मेलनपश्चात्को दोस्रो परिषद् बैठकमा महासचिव समीर सिंहद्धारा २०७७ असार २७ प्रस्तुत तथा पारित)
अध्यक्षज्यू, उपाध्यक्ष्यज्यू, सल्लाहकारज्यू, केन्द्रीय समितिका सदस्यज्यू तथा सम्पूर्ण राष्ट्रिय परिषद्् सदस्यज्यूहरू न्यानो अभिवादन !

पृष्ठभूमि

प्रगतिशील लेखक सङ्घको ऐतिहासिक एघारौँ राष्ट्रिय सम्मेलनलगत्तै पहिलो राष्ट्रिय परिषद्् बैठक सम्पन्न भएको थियो । त्यसपछि दोस्रो राष्ट्रिय परिषद्् बैठक सम्पन्न हुँदै छ । कोरोना महामारीका कारण हामी प्रत्यक्ष सम्पर्कमा आएर बैठक सम्पन्न गर्न नसके पनि प्रविधिको प्रयोग गर्दै, सल्लाहकारहरूको समेत सहभागितामा परिषद्् बैठक सम्पन्न गर्न पाउँदा हामी अत्यन्तै हर्षित छौँ ।
एघारौँ राष्ट्रिय सम्मेलनपछि हालसम्म राष्ट्रिय तथा अन्तराष्ट्रिय परिस्थितिमा धेरै नै फेरबदल भएको छ । कोभिड–१९ महामारीका कारण सम्पूर्ण मानवजातिका लागि प्रतिकूल परिस्थिति सिर्जना भएको छ । यस प्रकारको विषम परिस्थितिका कारण रोग र भोकले छट्पटाउनुपर्ने चुनौतीपूर्ण परिस्थिति सिर्जना भएको छ । हाम्रा प्रगतिशील लेखन तथा सिर्जना निर्माणको दिशामा पनि विभिन्न प्रकारका अवरोध सिर्जना भइरहेका छन् । प्रगतिशील लेखक सङ्घको साङ्गठनिक गतिविधि तथा अन्य सिर्जनात्मक कार्यक्रमलाई सशक्त रूपमा अगाडि बढाउन केही न केही समस्या उत्पन्न भइरहेको अवस्था छ । यस प्रकारको प्रतिकूल परिस्थितिको बिचमा पनि आज हामी प्रविधिसित नजिक हु्ँदै अनलाइन बैठक सम्पन्न गर्न गर्दै छौँ । आशा र विश्वास छ, यो बैठकमा हाम्रा चुनौती र आगामी कार्ययोजनाबारे व्यापक रूपमा बहस हुने छ । यस प्रकारको बहसपश्चात्को निष्कर्षलाई कार्यान्वयन गर्न हामी एकजुटता र क्रियाशील हुने छौँ । 
वर्तमान विश्वमा केही मुट्ठीभर शोषकको नाफामा मात्र केन्द्रित हुँदै बढीभन्दा बढी कार्बन उत्र्सजन गर्दै आइयो । विश्व साम्राज्यवादको रणनीति नै नाफा आर्जन गर्ने तथा बढीभन्दा बढी प्रकृतिको दोहन गर्नेतर्फ रह्यो । बढीभन्दा बढी कार्बन उत्सर्जनले गर्दा ग्लोबल वार्मिङ बढ्दै गइरहेको अवस्था छ । ओजन लेयर पातलो हुँदै गइरहेको छ । वातावरणीय क्षेत्रमा खेलबाड गरिँदा कोभिड–१९ जस्ता भाइरसका लागि अनुकूल वातावरण तयार भयो । भविष्यमा अझ खतरनाक भाइरसको उत्पत्ति नहोला भन्न सकिन्न । परिणाम के भयो भने आज सिङ्गो मानवजातिले यस प्रकारको डरलाग्दो भाइरसका विरुद्ध सङ्घर्ष गर्नुपरिरहेको छ । 
देशको राष्ट्रिय राजनीतिमा पनि नयाँ नयाँ प्रकारका परिस्थिति सिर्जना भएका छन् । नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा समेट्दै भारतले एकतर्फी रूपमा आफ्नो राजनीतिक नक्सा जारी ग¥यो । हाम्रो भूमि मिच्दै मानसरोवरसम्म बाटो निर्माण गरी उद्घाटन गरियो । हाम्रो राष्ट्रियता, अखण्डता र सार्वभौमिकतामा नै आँच पुग्ने कार्यले हाम्रो राष्ट्रिय भावना तथा स्वाभिमानमा नै गम्भीर चोट पुग्न गयो । राष्ट्रियताका विषयमा सिङ्गो देश एकजुट हुँदै अतिक्रमित भूमि समेट्दै नेपालको नयाँ राजनैतिक नक्सा जारी गरियो । यस प्रकारको ऐतिहासिक कदमलाई प्रगतिशील लेखक सङ्घ हार्दिक स्वागत गर्दछ । अझ पनि नेपालको थुप्रै भूमि अतिक्रमण भएको छ । त्यस प्रकारको सीमा अतिक्रमणका विरुद्धमा प्रगतिशील लेखक सङ्घ निरन्तर क्रियाशील र सङ्घर्षरत भइरहने प्रतिबद्धता जाहेर गर्दछ । 
अमेरिकी साम्राज्यवाद आफ्नो कथित रणनीति पूरा गर्न एमसिसी मार्फत् क्रियाशील हुने दुष्प्रयास गर्दै छ । अमेरिकी सुरक्षा रणनीतिको अध्ययन गर्दा पनि एमसिसी आई.पी.एस. को अङ्ग भएको पुष्टि हुन्छ । देशको सार्वभौमसत्तामाथि नै प्रहार हुने गरी तथा विभिन्न राष्ट्रघाती धारासमेत समावेश गरी यथास्थितिमा एमसिसीलाई पारित गर्नु हुँदैन भन्नेमा प्रलेस स्पष्ट छ । अमेरिकी साम्राज्यवादी रणनीतिका विरुद्ध देशको सार्वभौमसत्ताको रक्षाका लागि सशक्त रूपमा क्रियाशील भइरहने कुरामा प्रलेस प्रतिबद्धता जाहेर गर्दछ । 
नेपालको वर्तमान संविधानमा रहेको नागरिकतासम्बन्धी कतिपय व्यवस्थाले देश फिजीकरणतर्फ जान सक्ने परिस्थिति हुन सक्छ । त्यसलाई संशोधन गर्न हालै राज्यव्यवस्था समितिमा पारित भई संसदमा संशोधन प्रस्ताव दर्ता भएको छ । तर सो प्रस्तावलाई पारित नगरी संसद अधिवेशन अन्त गरिँदा त्यति महत्त्वपूर्ण संशोधन प्रस्ताव ओझेलमा पर्न गएको छ । नागरिकतासम्बन्धी हालको संवैधानिक व्यवस्थालाई सच्याउन संसदमा दर्ता भएको प्रस्ताव छिटोभन्दा छिटो पारित गर्न प्रलेस माग गर्दछ । 
देशमा अझै पनि सामन्ती संस्कृति तथा परम्परा कायम छन् । त्यसको ज्वलन्त उदाहरण रुकुमको चौरजहारी घटना हो । जातीय आधारमा घटित त्यस प्रकारको आपराधिक कार्यको प्रलेस भत्र्सना गर्दछ र दोषीलाई कडा कारबाहीको माग गर्दछ । त्यस्तै, देशमा भइरहेका विभिन्न जातीय, लैङ्गिक र सांस्कृतिक असमनतालाई हटाउँदै समानतामा आधारित समाज तथा व्यवस्था निर्माणको दिशामा क्रियाशील भइरहनुपर्ने आवश्यकतामाथि जोड दिनुपर्ने प्रलेसको स्पष्ट मान्यता छ । 
केही भारतीय टेलिभिजन च्यानलले नेपाल र नेपालीको अस्मिता तथा स्वाभिमानमाथि प्रहार गरिरहेका छन् । एउटा सार्वभौमसत्तासम्पन्न मुलुक र जनताका लागि यो असह्य कुरा हो । चीनलाई समेत मुछेर लगातार गलत सामग्री दिइँदै छ । ती भारतीय सञ्चार माध्यमको यस प्रकारको चरित्रहत्या, पीतपत्रकारिता र नेपाल विरुद्धको षड्यन्त्रको प्रलेस जोडदार रूपमा भत्र्सना गर्दछ ।
बाढीपहिरोका कारण देशमा ठुलो जनधनको क्षति भएको छ । सिन्धुपाल्चोक, गुल्मी, कास्की, पश्चिम रुकुम, म्याग्दी, तनहुँ, जाजरकोट, लमजुङ, दोलखालगायतका जिल्लामा बाढीले कैयौँ घर बगाएको छ भने दर्जनौँ व्यक्तिको ज्यान गइसकेको छ । बाढीको जोखिम लगातार बढिरहेको छ । बाढीबाट बच्नका लागि देशव्यापी रूपमा पूर्व सतर्कता अपनाउन र पीडित परिवारको उद्धारमा सिङ्गो देश एकजुट हुन प्रलेस आह्वान गर्दछ ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा देखिएका यस प्रकारका अन्तरविरोधलाई चिर्दै प्रगतिशील लेखक सङ्घको लेखन, सिर्जना तथा साङ्गठनिक योजनालाई अगाडि बढाइनुपर्दछ । आशा र विश्वास छ, यस अनलाइन बैठकले पनि त्यस दिशामा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने छ ।

केन्द्रीयस्तरका गतिविधि

प्रगतिशील लेखक सङ्घले विगत एक वर्षको अवधिमा विभिन्न सिर्जनात्मक तथा सङ्गठनात्मक गतिविधिलाई निरन्तरता दिँदै आएको छ । प्रगतिशील लेखक सङ्घ र सांस्कृतिक रूपान्तरणबारे २०७६ भाद्र १४ गते प्रलेस र नेपाल प्रज्ञा–प्रतिष्ठान संस्कृति विभागको सहकार्यमा विचारगोष्ठी कार्यक्रम सम्पन्न भयो । सो कार्यक्रमको प्रमुख अतिथि राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी हुनुहुुन्थ्यो भने प्रलेसका सल्लाहकार प्रा.डा. पशुपतिनाथ तिमिल्सेनाले अवधारणा पत्र प्रस्तुत गर्नुभएको थियो । 
प्रलेसको ६८ औँ स्थापना दिवस तथा प्रलेस प्रतिभा पुरस्कार अर्पण समारोह २०७६ आश्विन ५ गते सम्पन्न भयो । वरिष्ठ साहित्यकार मोदनाथ प्रश्रित प्रमुख अतिथि रहेको सो कार्यक्रममा कवि तथा समालोचक डा. गोविन्द आचार्यलाई प्रलेस प्रतिभा पुरस्कार–२०७६ प्रदान गरिएको थियो । 
२०७६ कार्तिक २४ गते शक्ति लम्साल चौथो स्मृति दिवस कार्यक्रम बागबजार कार्यालयमा सम्पन्न गरियो । 
सीमा अतिक्रमण विरुद्ध २०७६ मङ्सिर १ गते भोटाहिटी चोकमा ‘सीमा अतिक्रमण विरुद्ध स्रष्टाहरू–२०७६’ कार्यक्रम सम्पन्न गरियो । सो कार्यक्रमअगावै भृकुटीमण्डपबाट सीमा बचाऔँ अभियान तथा विभिन्न सांस्कृतिक सङ्घसंस्थाको सहकार्यमा जुलुस प्रदर्शन गरिएको थियो । कार्यक्रममा नेपाली तथा नेवारी रचनाहरू वाचन गरिएका थिए । 
प्रगतिशील लेखक सङ्घ मुख्य आयोजक र ८५ वटा विभिन्न सङ्घसंस्था सहआयोजक रहने गरी २०७६ फागुन २३ गते नेपाल प्रज्ञा–प्रतिष्ठानमा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको प्रमुख आतिथ्यमा वरिष्ठ प्रगतिवादी साहित्यकार आनन्ददेव भट्टलाई अभिनन्दन गरियो । प्रलेसको इतिहासमा यति धेरै सङ्घसंस्थासित सहकार्यको अभ्यासलाई महत्त्वपूर्ण अनुभूति र उपलब्धि रूपमा लिनुपर्दछ । आनन्ददेव भट्टको व्यक्तित्व परिचय प्रकाशन गरिसकिएको छ भने उहाँको लेखन तथा विविध पक्षबारे लेख सङ्कलन गरिसकिएको छ र सहज परिस्थिति हुनासाथ तुरुन्तै प्रकाशन गरिने पनि जानकारी गराउँछौँ ।
प्रगतिशील लेखक सङ्घले नियमित रूपमा परिसंवाद कार्यक्रम गर्दै आइरहेको छ । दोस्रो केन्द्रीय समितिको बैठकपछि निम्न प्रकारले सो कार्यक्रम सञ्चालित रह्यो ः २०७६ असार ६ गते प्रगतिशील लेखनका समस्याबारे मातृका पोख्रेल, श्रावण ३ गते पुष्पलालको सांस्कृतिक चिन्तनबारे विष्णु प्रभात र रामबहादुर भण्डारी, भाद्र ६ गते वर्ग, जाति र समावेशिताबारे रामबहादुर बुढा, आश्विन ३ गते सांस्कृतिक रूपान्तरणमा देखा परेका समस्या र समाधानका उपायबारे चूडामणि गिरी, मङ्सिर ६ गते सीमा अतिक्रमणको समस्या र राष्ट्रियताबारे साध्यबहादुर भण्डारी, पुस ४ गते कवितामा महिला साहित्यकारबारे डा.बिन्दु शर्मा, माघ ३ गते पठन संस्कृतिबारे गोपीरमण उपाध्याय, फागुन २ गते एमसिसीबारे लीलामणि पोख्रेलले विषयवस्तु राख्नुभएको थियो । कोभिड–१९ का कारण केही समय परिसंवाद कार्यक्रमलाई निरन्तरता दिन नसके पनि पछि प्रविधिसित जोडिँदै सो कार्यक्रमलाई निरन्तरता दिँदै आइएको छ । सोही क्रममा २०७७ जेष्ठ २४ गते पूर्वीय दर्शनमा भौतिकवादबारे समीर सिंह र असार ६ गते नेपालको राष्ट्रियताको ऐतिहासिक पृष्ठभूमि र निकासबारे डा. अतिन्द्र दाहाल र रतन भण्डारीले विषयवस्तु प्रस्टयाउनुभएको थियो । 
प्रगतिशील लेखक सङ्घको एघारौँ राष्ट्रिय सम्मेलनपश्चात् उपमहासचिव आरसी न्यौपाने प्रधान सम्पादक, सचिव प्रकाश थापा मगर कार्यकारी सम्पादक, झगिन्द्र ढकाल ‘पारस’, शालिकराम तिमिल्सेना, नवराज रिजाल र कौशिला रिसाल रहेको सम्पादन मण्डल तथा बम बानिया प्रबन्धक रहेको सम्मेलन विशेषाङ्क प्रलेस–२५ प्रकाशन गरियो । त्यस्तै, प्रलेस केन्द्रको आयोजनमा देउसीभैलो कार्यक्रम पनि भव्य रूपमा सम्पन्न गरियो । 
एघारौँ राष्ट्रिय सम्मेलनपश्चात् साङ्गठनिक गतिविधिलाई व्यवस्थित रूपमा सञ्चालन गर्न विभिन्न विभाग गठन गरिएका थिए । सबै विभागको बैठक तथा परिचालन गर्न नसकिए पनि केही विभागको बैठक बसी आफ्ना गतिविधिलाई सञ्चालन गर्ने प्रयास हुँदै आएका छन् । विभिन्न विभागको बैठक बसी योजना बनाइँदै गरेको अवस्थामा कोभिड–१९ ले गर्दा लकडाउनको अवस्था सिर्जना भएकाले त्यसलाई कार्यान्वयन गर्न कठिनाइ हुन गयो । 
विभिन्न समसामयिक विषयमा प्रलेसले प्रेसविज्ञप्ती जारी गरी आफ्नो धारणा राख्दै आएको छ । जनवादी कलाकार तथा प्रलेसका पूर्व सल्लाहकार माइला लामाको गिरफ्तारीको विरोध गर्दै उहाँको यथाशीघ्र रिहाइका लागि २०७६ श्रावण ५ गते, प्रलेसका पूर्व उपाध्यक्ष खेम थपलियाको रिहाइका लागि श्रावण २५ गते, कर्णाली प्रदेश समितिद्वारा आयोजित साहित्य गोष्ठीसहित आफ्नो मुखपत्र ‘रातो जून’ सार्वजनिक गर्ने कार्यक्रमबाट प्रलेस कर्णाली प्रदेश समितिका सचिव हरिलाल महतारा, उक्त समितिका सदस्य सिद्धबहादुर खड्का र अतिथि धनसिंह विक र धनबहादुर नेपालीलाई कार्यक्रम स्थलबाट प्रहरीले पक्राउ गरेकामा प्रलेसले विरोध गर्दै उहाँहरूको रिहाइका लागि माघ १६ गते, प्रलेस नेपालका पूर्व केन्द्रीय सल्लाहकार तथा संस्कृतिकर्मी अनिल शर्मालाई चितवनमा उपचारका सिलसिलामा अस्पतालमा पुगेका वेला २०७७ वैशाख २३ गते भएको गिरफ्तारीको निन्दा गर्दै वैशाख २४ गते विज्ञप्ती जारी गर्दै उहाँहरूको रिहाइको माग गरियो ।
भारतले आफ्नो राजनीतिक नक्सामा लिम्पियाधुरा, कालापानी र लिपुलेक समावेश गर्ने कार्यको निन्दा गर्दै सार्वभौमसत्ताको रक्षाका लागि देशभक्त जनता एकताबद्ध भई सङ्घर्षमा उत्रन कार्तिक ११ गते विज्ञप्ती जारी गरियो । त्यस्तै, २०७७ जेष्ठ १३ गते अर्को विज्ञप्ती जारी गर्दै नेपाल सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटेर नेपालको नक्सा तयार गरी प्रकाशन गरेकामा सहर्ष स्वागत गरियो । त्यस्तै, केन्द्रीय समितिको २०७७ असार १३ गते अनलाइन प्रविधिबाट सम्पन्न बैठकले नेपालको संविधान सर्वसम्मत रूपमा संशोधन गरी अनुसूचीमा रहेको निसानाछापमा नेपालको वास्तविक नक्सा समाविष्ट गर्ने महत्त्वपूर्ण निर्णय लिएकोमा संसदका दुवै सदनका सांसदप्रति धन्यवाद ज्ञापन गर्ने निर्णय गर्दै त्यस निर्णयका निम्ति अग्रसरता लिने नेपाल सरकार, सम्बद्ध दल तथा अभियन्ताको पहलकदमीको पनि बैठकले सराहना ग¥यो । 
देशको स्वाभिमान तथा स्वतन्त्रतामा आघात पुग्ने गरी एमसिसी सम्झौता गरिएको हु्ँदा सो सम्झौतामा भएका आपत्तिजनक प्रावधानमा सुधार नगरी सम्झौता कार्यान्वयन नगर्न माघ ३ गते विज्ञप्ती जारी गरियो । असार १३ गतेको केन्द्रीय समितिको बैठकपश्चात्को विज्ञप्तीमा पनि ‘अमेरिकाको सुरक्षा परिषद्का दस्तावेजले नै एमसिसी आई.पी.एस. को अङ्ग भएको बताइरहेको अवस्थामा सम्झौतामा रहेका नेपाललाई घात गर्ने प्रावधान राखेर यथास्थितिमा सो प्रस्ताव कुनै पनि हालतमा पारित गर्न नहुने’ दृढता प्रकट गरियो । 
कोरोना भाइरसबाट उत्पन्न वर्तमान समस्याको समाधानका लागि राज्यले चालेका पाइलाप्रति ऐक्यबद्धता जनाउँदै एकताबद्ध रूपमा समस्याको समाधानमा आआफ्ना ठाउँबाट योगदान गर्न प्रगतिशील लेखक सङ्घका केन्द्रीय र प्रादेशिक सङ्गठन, जिल्ला शाखा तथा समस्त लेखकलाई हार्दिक आह्वान गर्दै यस संवेदनशील घडीमा धैर्य र सावधानीका साथ समस्याको सामना गर्न र समाजलाई निराश हुन नदिई उत्साहित तुल्याउन र आत्मबल बढाउन जनचेतना अभिवृद्धिका निम्ति क्रियाशील रही जनता र समाजका हितमा आआफ्नो सिर्जनात्मक क्षमताको अधिकतम सदुपयोग गर्न एवम् सिर्जना सार्वजनिक गर्न सबै लेखक, साहित्यकार एवम् बुद्धिजीवीमा विशेष अपिल गर्दै चैत्र १२ गते विज्ञप्ती जारी गरियो ।
प्रगतिशील लेखक सङ्घ, नेपालका अर्घाखाँची जिल्लाका अध्यक्ष तथा नेपालको प्रगतिशील सांस्कृतिक आन्दोलनमा विशेष योगदान गर्नुभएका वरिष्ठ स्रष्टा बुद्धिबहादुर रायमाझीको अर्बुद रोगको उपचारका क्रममा मेडिसिटी अस्पतालमा २०७७ वैशाख २२ गते निधन भएकोमा गहिरो दुःख व्यक्त गर्दै उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै वैशाख २२ गते विज्ञप्ती जारी गरियो । त्यस्तै, असार १३ गतेको केन्द्रीय समितिको बैठकमा पनि उहाँको दुःखद निधनमा शोक प्रस्ताव पारित गरियो । 
जातीय विभेद र अन्याय–अत्याचारको अन्त्य तथा सामाजिक सद्भाव र न्यायको पक्षमा दृढतापूर्वक उभिनुपर्ने आवश्यकतामाथि जोड दिँदै पश्चिम रुकुमको चौरजहारीमा घटेको ६ जना होनहार युवाले ज्यान गुमाउनुपरेको घटनाको निन्दा गर्दै दुःखद घटनाको निष्पक्ष छानबिन, सत्यतथ्य निरूपण र दोषीमाथि कडा कारबाहीको माग गर्दै जेष्ठ १७ गते विज्ञप्ती जारी गरियो ।

प्रदेशस्तरका गतिविधि

प्रगतिशील लेखक सङ्घका प्रदेश तथा जिल्लास्तरमा विभिन्न गतिविधि हुँदै आएका छन् । प्रगतिशील लेखक सङ्घ गण्डकी प्रदेशले २०७६ असार २१ गते प्रदेशस्तरीय बहुभाषिक कविता गोष्ठी सम्पन्न ग¥यो । प्रमुख अतिथि मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र विशिष्ट अतिथि प्रलेसका केन्द्रीय उपाध्यक्ष सुशीला प्रधानाङ्ग रहेको सो गोष्ठीमा १४ वटा भाषाका कवि–कवयत्रीद्वारा कविता प्रस्तुत गरिएको थियो । कार्यक्रममा नेपाली, संस्कृत, मगर, गुरुङ÷तमु, छन्त्याल, थकाली, तामाङ, नेपाल÷नेवारी, कुमाल, बान्तवा, सुनुवार, दुरा, ह्योल्मो र कुलुङ भाषाका कविता प्रस्तुत गरिएका थिए । गोष्ठीको अध्यक्षता प्रदेश अध्यक्ष लोकबहादुर थापाले गर्नुभएको थियो ।
प्रगतिशील लेखक सङ्घ, सूदूरपश्चिम प्रदेशले २०७६ श्रावण ३२ गते धनगढीमा ‘समाज रूपान्तरणमा प्रगतिशील साहित्य र संस्कृतिको भूमिका’ विषयक अन्तक्र्रिया कार्यक्रम सम्पन्न भयो । प्रदेश अध्यक्ष जनक रसिकको अध्यक्षतामा भएको सो कार्यक्रमको उद्घघाटन सुदूर पश्चिम प्रदेश सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले गर्नुभएको थियो भने प्रलेसका केन्द्रीय सचिव बाबुराम आचार्यले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । त्यस्तै, सो प्रदेशले राष्ट्रियताको पक्षमा सडक कविता कार्यक्रम पनि सम्पन्न गरेको छ । 
२०७६ भाद्र २८ गते प्रगतिशील लेखक सङ्घ कर्णाली प्रदेशको आयोजना तथा प्रगतिशील लेखक सङ्घ जिल्ला शाखा रुकुमको व्यवस्थापनमा ‘प्रगतिशील कर्णाली साहित्यिक यात्रा’ कार्यक्रमको प्रथम यात्रा सम्पन्न गरियो । प्रलेस कर्णाली प्रदेशका अध्यक्ष गिरीप्रसाद बुढाको अध्यक्षता तथा जिल्ला समन्वय समिति रुकुम पश्चिमका प्रमुख राजकुमार शर्माको प्रमुख आतिथ्यमा सो कार्यक्रम भएको थियो । सो अवसरमा ‘कर्नाली प्रदेशमा प्रगतिशील कलासाहित्यको सम्भावना र चुनौती’ विषयक अन्तक्र्रिया सञ्चालन गरिएको थियो । सो अवसरमा प्रगतिशील लेखक सङ्घ कर्णाली प्रदेशका अध्यक्ष गिरीप्रसाद बुढाले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
प्रगतिशील लेखक सङ्घ १ नं. प्रदेश, आफ्नै भवन निर्माण प्रक्रियामा अगाडि बढिरहेको छ । प्रलेसको इतिहास प्रकाशनको तयारी, प्रदेश भेला, अग्रजको सम्मान, जिल्लामा अनलाइन कविता वाचनलगायतको कार्यक्रमका साथ सो प्रदेशले आफ्ना गतिविधि अगाडि बढाइरहेको छ । 
प्रगतिशील लेखक सङ्घ प्रदेश नं. २ ले २०७६ मङ्सिर १९ गते बर्दिबासमा सडक कवि गोष्ठी सम्पन्न गरेको छ भने महोत्तरी, धनुषालगायतका जिल्लामा साहित्यिक कार्यक्रम गरिरहेको छ । 
प्रगतिशील लेखक सङ्घ ५ नं. प्रदेशले २०७७ जेष्ठ २० गते ‘प्रगतिशील लेखन र राष्ट्रियता’ विषयमा अनलाइन विचारगोष्ठी सम्पन्न गरेको छ । प्रलेस अध्यक्ष प्रा.डा. जीवेन्द्र देव गिरीले प्रमुख अतिथिका रूपमा विचार प्रस्तुत गर्नुभएको सो कार्यक्रमको अध्यक्षता प्रदेश अध्यक्ष केशव थापाले गर्नुभएको थियो । त्यस्तै, २०७६ आश्विन ११ गते प्रलेस उपाध्यक्ष गोपीरमण उपाध्यायको प्रगतिवादी समालोचनाको समीक्षा कार्यक्रम तथा विचार निर्माणका लागि साहित्य भन्ने नाराका साथ बृहत् कवि गोष्ठी सम्पन्न गरिएको छ । सो कार्यक्रमको प्रमुख अतिथि प्रदेश मन्त्री लीला गिरी हुनुहुन्थ्यो । 

जिल्लास्तरका गतिविधि

२०७६ श्रावण ८ गते प्रलेस सिन्धुलीको आयोजनामा नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको एकचालिसौँ स्मृति दिवसको अवसरमा अन्तरसंवाद कार्यक्रम सम्पन्न भयो । ‘वर्तमान सन्दर्भमा नयाँ जनवादी कार्यक्रम र क. पुष्पलाल’ विषयक अन्तरसंवाद कार्यक्रमका आयोजक थिए– रूपान्तरणका लागि नागरिक अभियान सिन्धुली र प्रगतिशील लेखक सङ्घ सिन्धुली । अन्तरसंवादका लागि केन्द्रीय वक्ताका रूपमा पुष्पलाल अध्ययन समाजका अध्यक्ष लोककृष्ण भट्टराईलाई निम्त्याइएको थियो । त्यस्तै प्रगतिशील लेखक सङ्घ सिन्धुलीको आयोजनामा २०७६ साउन ४ गते जिल्लाका प्रगतिवादी स्रष्टाहरूको रचना वाचन र समीक्षा कार्यक्रम सम्पन्न भयो । प्रलेस सिन्धुलीले २०७६ पुस १२ गते बिहान १० बजे सिन्धुली सदरमुकामबाट थालिएको स्रष्टाहरूको सीमा अतिक्रमणका विरूद्ध सडकमा स्रष्टा अभियान बिपी राजमार्गका चियाबारी, सेल्फीमोड, खनियाँखर्क आदि स्थान हुँदै खुर्कोट महोत्सव आयोजकद्वारा उपलब्ध गराइएको एक घण्टा समय उपयोग गर्दै मञ्चबाट राष्ट्रवादी साहित्यिक रचना, गीत, गजल, मुक्तक र कविता वाचन गरिएको थियो ।
प्रलेस मकवानपुरले २०७६ साउन २५ गते मकवानपुर जिल्लाको हेटौँडास्थित साहित्य सङ्गमको हलमा माक्र्सवादी दर्शन र साहित्य लेखन विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । प्रगतिशील लेखक सङ्घ मकवानपुरका अध्यक्ष शान्ति प्रियवन्दनाको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य तथा साहित्यकार केदार न्यौपाने प्रमुख वक्ताका रूपमा रहनुभएको थियो । त्यस्तै, २०७६ भदौ ७ गते मकवानपुर जिल्लाको हेटौँडामा रहेको क्लब हेटौँडा पार्र्टी प्यालेसमा प्रगतिवादी कवि केशव सिलवालको एकल कविता साँझ सम्पन्न भएको थियो । सङ्घका अध्यक्ष शान्ति प्रियवन्दनाको अध्यक्षतामा भएको सो कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी मकवानपुरका अध्यक्ष मुनु सिग्देलको प्रमुख आतिथ्य रहेको थियो । २०७६ पौष १२ गते ‘भूपि स्मरणको औचित्य’ विषयक परिचर्चा कार्यक्रम सम्पन्न भएको थियो । सो कार्यक्रममा प्रगतिशील साहित्यकार एवं पत्रकार नवराज शर्माको प्रमुख आतिथ्यता रहेको थियो । २०७७ असार १४ गते कोराना सङ्क्रमणको अवस्थालाई मध्यनजर गरेर प्रविधि मार्फत् पाँच कविका पन्ध्र कविता शीर्षकमा कविगोष्ठी सम्पन्न गरियो । सोे कार्यक्रममा प्रगतिशील लेखक सङ्घ नेपालका पूर्व अध्यक्ष तथा सल्लाहकार मातृका पोखरेलको प्रमुख आतिथ्य रहेको थियो ।
प्रलेस कपिलवस्तुले २०७६ श्रावण ३२ गते वाणगङ्गाको जीतपुरमा सडक कविता वाचन कार्यक्रम सम्पन्न गरेको छ । त्यस्तै, आश्विन ४ गते पनि सोही प्रकारको कार्यक्रम सम्पन्न गरिएको छ । 
प्रलेस सिन्धुपाल्चोकको पाँचौँ जिल्ला सम्मेलन २०७६ भदौ ३१ गते साँगागढीचोकमा सम्पन्न भयो । केन्द्रीय अध्यक्ष प्रा.डा. जीवेन्द्र देव गिरीको प्रमुख आतिथ्यमा भएको सो सम्मेलनले यदुनाथ वसन्तपुरेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन ग¥यो । सम्मेलनको अघिल्लो दिन भदौ ३० गते ‘समृद्धिको आधार, पर्यटन नै पूर्वाधार’ शीर्षकमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको थियो । 
पाँचौँ संविधान दिवसको अवसर पारेर प्रगतिशील लेखक सङ्घ काठमाडौँले ‘सडकमा कविता’ कार्यक्रम सम्पन्न गरेको छ । केन्द्रीय अध्यक्ष प्रा.डा. जीवेन्द्र देव गिरीको प्रमुख आतिथ्यमा सो कार्यक्रम २०७६ असोज ३ गते रत्नपार्कमा सम्पन्न भएको हो ।
२०७६ मङ्सिर २८ गते धुलिखेलमा प्रगतिशील लेखक सङ्घ काभ्रे जिल्ला समितिले सीमा अतिक्रमणका विरुद्ध रचना वाचन कार्यक्रम सम्पन्न ग¥यो ।
प्रगतिशील लेखक सङ्घ, ललितपुरले पनि नियमित रूपमा आफ्ना साहित्यिक कार्यक्रम गर्दै आइरहेको छ । 
प्रगतिशील लेखक सङ्घ रूपन्देहीले प्रलेस रूपन्देहीका अध्यक्ष दलबहादुर गुरुङको अध्यक्षता तथा प्रदेश ५ का मुख्यमन्त्री सुदर्शन बरालको प्रमुख आतिथ्यमा बुटवलमा तीनदिने साहित्य महोत्सव तथा पुस्तक प्रदर्शनी कार्यक्रम सम्पन्न गरेको छ । २०७७ मङ्सिर २० गते सुरु भएको सो महोत्सवको उद्घाटन समारोहलाई प्रलेसका अध्यक्ष प्रा.डा. जीवेन्द्र देव गिरी तथा राजनीतिकर्मी एवम् समाजसेवी देवेन्द्र घिमिरेलगायतले सम्बोधन गर्नुभएको थियो । समारोहमा वरिष्ठ स्रष्टा रामचन्द्र भट्टराई, प्राज्ञ बूँद राना, कवि रुद्र ज्ञवाली, केन्द्रीय सदस्य मीनबहादुर रानालगायतले कविता, गजल र गीत वाचन गर्नुभएको थियो । तीन दिनको सो महोत्सवमा घनश्याम कोइरालाले “संस्कृतिर साहित्यबिचको अन्तर्सम्बन्ध”, डा. राजेन्द्र खनालले “साहित्यमा जनस्वास्थ्य”, जङ्गबहादुर शाहले “पठन संस्कृति”, रामचन्द्र श्रेष्ठले “सहरको सभ्यता”, प्रा. दिल साहनीले “समकालीन साहित्यमा प्रगतिशीलता”, प्रा. हुमकान्त पाण्डेयले “स्रष्टा, साधना र सिर्जनात्मक उत्तरदायित्व”, डा.मुरारी पराजुलीले “साहित्यिक विधा र त्यसका प्रभाव”, विमलबहादुर शाक्यले “बुटवलको ऐतिहासिकता”, सहप्राध्यापक ऋषिराम भुसालले “रूपन्देहीको कलासाहित्य यात्रा”, प्रा.डा. कपिलदेव लामिछानेले “बालसाहित्य र अभिभावक”, डा. लक्ष्मी पोखरेल ‘सानो कोकिला’ ले “लोकगीतमा नारी चेतना” र रामप्रसाद रेग्मीले “बुटवलको साहित्य, कला र संस्कृतिको उन्नयनमा बुटवल उपमहानगरपालिका” विषयमा विचार प्रस्तुत गर्नुभएको थियो । पुस्तक प्रदर्शनी आठ हजार जनाले अवलोकन गरेका थिए । सो जिल्ला समितिले २०७७ ज्येष्ठ र असारमा लेखनमा सिर्जनशीलता, लघुकथाको सैद्धान्तिक ज्ञान, लेखन र अभ्यास, मुक्तक लेखक र अभ्यास, हाइकुसम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । सो कार्यक्रमको प्रशिक्षक क्रमशः मोहन मैनाली, हरिप्रसाद भण्डारी, डा. मुरारी पराजुली र डा. लेखप्रसाद निरौला हुनुहुन्थ्यो । त्यस्तै, प्रलेस रूपन्देहीले नियमित रूपमा दर्शन पाठशाला चलाउँदै आएको छ । यसै क्रममा १२ औँ अङ्कका रूपमा २०७७ ज्येष्ठ २४ गते “लकडाउनपछिको साहित्य” विषयमा भर्चुअल माध्यमबाट कार्यक्रम सम्पन्न गरिएको छ । सो कार्यक्रमको विषयवस्तु प्रस्तोता डा. रवीन्द्र समीर हुनुहुन्थ्यो । 
प्रगतिशील लेखक सङ्घ, कैलालीले २०७६ आश्विन ५ गते स्थापना दिवसको अवसर पारेर कविगोष्ठी सम्पन्न गरेको छ । 
प्रलेस कञ्चनपुरले २०७६ अश्विनमा आफ्नो मुखपत्र अरुणोदय अङ्क–३ प्रकाशन गरेको छ । त्यस्तै, माघमा सहिद दिवसको अवसर पारेर अमर सहिद दशरश चन्दको सालिकमा माल्र्यापण तथा रचना वाचन कार्यक्रम सम्पन्न गरेको छ । प्रलेस कञ्चनपुरले सीमा अतिक्रमण विरुद्ध निरन्तर रूपमा प्रतिरोधी साहित्यिक कार्यक्रम गर्दै आइरहेको छ । यसै क्रममा २०७६ कार्तिक २५ गते नेपालको पश्चिमी सिमाना गड्डाचौकी पुगेर गजल, कविता मार्फत् नेपाल सरकारलाई पनि खबरदारी गर्दै भारत सरकारले सीमा अतिक्रमण गरे नराम्रो मूल्य चुकाउनुपर्ने सन्देश दिइएको थियो । त्यस्तै, कार्तिक २९ गते भीमदत्त नगरपालिका मदनचोकमा कैलाली तथा कञ्चनपुरका विभिन्न स्रष्टाको सहभागितामा सीमा अतिक्रमण विरुद्ध साहित्यिक कार्यक्रम सञ्चालन गरिएको थियो । त्यस्तै, २०७७ असार ६ गते अनलाइनबाट राष्ट्रियताका लागि आवाज तथा आवाजका लागि स्रष्टा र सिर्जना कार्यक्रम सम्पन्न गरिएको छ । त्यस्तै, कोभिड–१९ विरुद्ध साहित्य सचेतना कार्यक्रम पनि प्रलेस कञ्चनपुरले सम्पन्न गरेको छ । 
प्रलेस दाङले २०७६ असार १८ गते घोराही उमनपा १४ को सहयोगमा विद्यालय स्तरीय कविता प्रतियोगिता सम्पन्न गरेको छ । मङ्सिर ६ गते सीमा अतिक्रमणका विरोधमा कवि गोष्ठी तथा पौष ३ गते प्रलेस शाखा स्थापना दिवस तथा स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरेको छ । त्यस्तै, प्रलेस दाङले २०७६ असोज ३ गते प्रलेस नेपालका सल्लाहकार पदमप्रसाद शर्माको नियात्रा “ढिकपुरदेखि अर्घाखाँचीसम्म” को विमोचन गरेको छ ।
प्रलेस प्युठानले नेपाल प्रज्ञा–प्रतिष्ठानसमेतको सहकार्यमा २०७६ कार्तिक ७ र ८ गते १११ औँ लक्ष्मी जयन्तीको अवसरमा प्युठान र छिमेकी साहित्य स्रष्टाको उपस्थितिमा “समाज रूपान्तरणमा साहित्यको भूमिका” तथा “प्युठानको साहित्यिक आन्दोलन” विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । सो अन्तरक्रिया कार्यक्रममा प्रलेस सल्लाहकार डा. गोपीन्द्र पौडेलले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो तथा प्रलेस महासचिव समीर सिंहको समेत उपस्थिति रहेको थियो । सो अवसरमा खुल्ला तथा माध्यमिक विद्यालय स्तरीय कविता वाचन प्रतियोगितासमेत सम्पन्न गरिएको थियो । त्यस्तै, प्रलेस प्युठानले नेपाल प्रज्ञा–प्रतिष्ठानमा प्रलेसका केन्द्रीय अध्यक्ष र महासचिवलगायतको उपस्थितिमा “झिम्रुकको तिरैतिर” पुस्तकसमेत विमोचन गरेको थियो । विभिन्न लेखरचना तथा आफ्नो मुखपत्र प्रकाशनलाई प्रलेस प्युठानले निरन्तरता दिँदै आइरहेको छ । 
प्रलेस पाल्पाले २०७६ कार्तिक २१ गते “महाकवि देवकोटाको साहित्यमा प्रगतिशीलता” विषयमा विचारगोष्ठी सम्पन्न गरेको छ । त्यस्तै, मङ्सिर २१ गते सीमा अतिक्रमणको विरोधमा पाल्पाको चार स्थानमा कवि गोष्ठी सम्पन्न गरिएको छ ।
प्रलेस रोल्पा र रूपन्देहीको संयुक्त आयोजनामा २०७६ पौष १८ गते पर्यटन भ्रमणवर्ष–२०२० को अवसरमा दुईदिने साहित्यिक भ्रमण कार्यक्रम सम्पन्न गरेको छ । 
प्रगतिशील लेखक सङ्घ सुर्खेतले वीरेन्द्र नगरको पिपलचौतारीमा २०७६ माघमा सीमा अतिव्रmमण विरुद्ध कवि गोष्ठी १८८ औँ साहित्ययात्राका रूपमा आयोजना गरेको थियो । प्रलेस सुर्खेतका कार्यवाहक अध्यक्ष जागेश्वर गौतमको अध्यक्षतातथा प्रलेस केन्द्रीय सदस्य डा. दीपक गौतमको प्रमुख आतिथ्यतामा सचिव धर्म दानीद्वारा सञ्चालित उक्त कवि गोष्ठी व्यापक जनसमुदायको उपस्थितिमा सम्पन्न गरिएको थियो । कवि गोष्ठीमा डा. दीपक गौतम, जागेश्वर गौतम, लीलाधर गौतम, हरिलाल महतारा, धर्म दानी, सिद्धबहादुर खड्का, देवप्रकाश सिंहलगायतले कविता वाचन गर्नुभएको थियो । प्रलेस सुर्खेतले २०७६ माघ ६ गते युद्धप्रसाद मिश्रको उनन्तिसौँ स्मृतिदिवस १८९ औँ साहित्ययात्राको रूपमा सम्पन्न ग¥यो । कार्यवाहक अध्यक्ष जागेश्वर नेपालको अध्यक्षता र केन्द्रीय सदस्य डा. दीपक गौतमको प्रमुख आतिथ्यता रहेको सो कार्यक्रममा कविवर मिश्रको जीवनी, व्यक्तित्व र कृतित्वको विवेचना प्रमुख अतिथिका साथै पूर्व अध्यक्ष टीका पोखरेलले कविता वाचनसहित गर्नुभएको थियो भने कविता वाचन गर्ने अन्य कविमा लीलाधर गौतम, श्यामकृष्ण शर्मा, टीकाभक्त गिरी, लक्ष्मणदेव गिरी, निरञ्जना योगी, मायाराम न्यौपाने, देवप्रकाश सिंह, सिद्धबहादुर खड्कालगायत हुनुहन्यो । कार्यव्रmममा प्रगतिशील स्रष्टा रगवीर विश्वकर्माको ‘लोभको भाँडो’ नामक कृतिको विमोचन प्रमुख अतिथिले गर्नुभएको थियो भने कृतिबारे प्रलेस सुर्खेतका पूर्व अध्यक्ष बलभद्र भारतीले चर्चा गर्नुभएको थियो ।

अन्त्यमा,

यो बैठक प्रलेसका वर्तमान चुनौती र आगामी कार्ययोजनाबारे घनीभूत रूपमा छलफल केन्द्रित हुने छ । त्यस प्रकारको छलफलले विद्यमान अन्तरविरोधलाई चिर्दै प्रलेसलाई ठोस र सशक्त रूपमा मार्गनिर्देशन गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेमा हामी विश्वस्त छौँ । 

राष्ट्रिय परिषद् बैठकबाट निम्नलिखित प्रस्ताव पारित गरिएका छन् :

  1. नेपाल सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटिएको नेपालको वास्तविक नक्सा सार्वजनिक गरेको र सोहीअनुसार नेपालको संविधानमा निसानाछाप समावेश गर्न विधेयक प्रस्तुत गरेबमोजिम संसदका दुबै सदनबाट सर्वसम्मत रूपमा पारित भएकोमा प्रलेसको राष्ट्रिय परिषद््को यो बैठक सहर्ष सरकार तथा संसदका दुबै सदनका सदस्यका साथै यस निम्ति विशेष पहल गर्ने दल, अभियन्ता तथा जनसमुदायप्रति हार्दिक धन्यवाद ज्ञापन गर्दछ ।
  2. राज्यव्यवस्था समितिबाट पारित भई सरकारद्वारा संसदमा प्रस्तुत भएको नागरिकतासम्बन्धी विधेयकको प्रलेस राष्ट्रिय परिषद््को यो बैठक हार्दिक स्वागत गर्दछ र सदनबाट यथाशीघ्र पारित हुने विश्वासका साथ त्यसको पक्षमा ऐक्यबद्धता जाहेर गर्दछ । 
  3. एमसिसीलाई आई.पी.एस. को अङ्ग भनी अमेरिकी दस्तावेजमा उल्लेख भएको र सोही कुरा पुष्टि गर्ने वक्तव्य पनि आएको तथा त्यसमा राष्ट्रलाई घात गर्ने कतिपय प्रावधान रहेकाले त्यसलाई यथास्थितिमा कुनै पनि हालतमा पारित गरिनु हुन्न भनी यो बैठक ठहर गर्दछ । 
  4. भारतीय केही सञ्चार माध्यमले नेपालको राष्ट्रियता, नेपालका सम्माननीय प्रधानमन्त्री तथा नेपालका लागि चिनियाँ राजदूतको विषयमा कूटनैतिक मर्यादा विपरीत दूराशयपूर्ण, भ्रमात्मक र कपोलकल्पित समाचार प्रचार प्रसार गरेकामा यो बैठक घोर भत्र्सना गर्दछ र यस प्रकारको गतिविधि तुरुन्त बन्द गरी मर्यादित व्यवहार गर्न आग्रह गर्दछ ।
  5. विचार अभिव्यक्तिका कारण राज्यबाट कुनै पनि स्रष्टालेखकलाई पक्रने, थुन्ने र यातना दिने काम नगरियोस् र निर्बाध रूपमा विचार प्रवाह गर्न पाउने वातावरण सिर्जना गरियोस् भन्दै विचार अभिव्यक्तिका कारण कुनै पनि स्रष्टालाई थुनामा राखिएको छ भने तुरुन्त रिहा गरियोस् भनी राष्ट्रिय परिषद््को यो बैठक सरकारसमक्ष माग गर्दछ ।
  6. कोभिड–१९ बाट ज्यान गुमाउने समस्त नेपाली दाजुभाइ, दिदीबहिनीप्रति यो बैठक हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ र यस महामारीको सङ्क्रमणमा पर्नुभएका सम्पूर्ण जनसमुदायको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछ । कोरोनाको नियन्त्रणका लागि सरकारले चालेका पाइलामा राष्ट्रिय परिषद््को यो बैठक ऐक्यबद्धता जनाउँछ र कोरोनाका असरबाट जनसमुदायलाई जोगाउन तथा समाजमा निराशा आउन नदिन सिर्जनात्मक क्षमताको अधिकतम सदुपयोग गर्न सम्पूर्ण स्रष्टालेखकलाई आह्वान गर्दछ । साथै कोभिड–१९ को सङ्क्रमणमा पर्नुभएका तथा यसका कारण समस्याग्रस्त हुनुभएका कलमजीवी लेखकले भोग्नुपरेका समस्यातर्फ पनि यो बैठक सरकारको ध्यानाकर्षण गराउँछ र समस्यामा पर्नुभएका कलमजीवी लेखकका निम्ति विशेष सहयोगको माग गर्दछ । 
  7. हालै आएको बाढीपहिरोमा परी ज्यान गुमाउनुभएका सम्पूर्ण दाजुभाइ दिदीबहिनीप्रति पनि बैठक हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ र घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछ । यस प्राकृतिक प्रकोपबाट पीडितको उद्धार, राहत र स्वास्थ्योपचारको समयमै यथोचित व्यवस्था गर्न सरकारसँग माग गर्दै मानवीय सेवाको यस कार्यमा आआफ्नो ठाउँबाट सहयोगमा जुट्न प्रलेस परिवारका सबै सदस्यलाई बैठक आह्वान गर्दछ ।
  8. विश्व साम्राज्यवादको रणनीति नै नाफा आर्जन गर्न, बढीभन्दा बढी प्रकृतिको दोहन गर्नेतर्फ रह्यो । बढीभन्दा बढी कार्बन उत्सर्जनले गर्दा ग्लोबल वार्मिङ बढ्दै गैरहेको अवस्था छ । ओजन लेयर पातलो हुँदै गइरहेको छ । वातावरणीय क्षेत्रमा खेलवाड गरिँदा कोभिड–१९ जस्ता भाइरसको लागि अनुकूल वातावरण तयार भयो तथा भविष्यमा अझ खतरनाक भाइरसको उत्पत्ति नहोला भन्न सकिन्न । परिणाम यो भयो कि आज सिङ्गो मानवजाति यस प्रकारको डरलाग्दो भाइरसका विरुद्ध सङ्घर्ष गरिरहनुपरेको छ । प्रलेस विश्वका वर्तमान चुनौतीको समाधानका लागि समाजवाद नै एउटा मात्र विकल्प रहेको ठहर गर्दछ ।

No comments:

Post a Comment